जेनजीलाई शेखरको आग्रहः वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो, तपाईं हामी मिलेर विधि सम्मत समाधान खोजौं


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । जेनजी पुस्तालाई पत्र लेख्दै सरकारको दमनबाट सरकारको औचित्य समाप्त भएको पुष्टि भएको बताएका हुन् । उनले जेनजीलाई तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका हुन् ।

यस्तो छ कोइरालाको पत्र

प्रिय जेनजी साथीहरु,
आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ । त्यसको जति निन्दा र भत्र्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।

श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु । तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।
आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।
तपाईंको अभिभावक,
डा शेखर कोइराला। ।