एमाले नेतृको आक्रोशः संसद भवन जलेको भए ५ अर्बको क्षति हुन्थ्यो होला, आज १६/१६ जना युवायुवतीको मूल्य सत्तासिनले तिर्छ ?


काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले जेनजी पुस्ताको आन्दोलनमाथिको दमन कुनै भवितव्य नभएको बताएकी छन् ।

प्रहरीको गोली प्रहारबाट एक दर्जन भन्दाबढीको मृत्यु भएपछि सामाजिक संजालमार्फत तिम्सेनाले यो भवितव्य नभई हत्या भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘आजको बानेश्वर काण्ड कुनै भवितव्य होइन, यो हत्या हो हत्या । निहत्था बालबालिकाहरुको हत्या । यो हत्याको बदला समयले तिमीहरुलाई अवश्य लिनेछ ।’

उनले १८ नकटेका, कलेजबाट आफ्नो पुस्ताको आन्दोलनमा सहभागी हुन हिँडेका, कलेज ड्रेसका केटाकेटीलाई गोलीले भुट्ने अधिकार यो देशको शासकलाई नभएको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘संसद भवन जलेको मुल्य ५ अर्ब हुन्थ्यो होला, आज १६÷१६ जना युवायुवतीको जिन्दगीको मूल्य कस्तो फुली लगाएको ? कति बलियो सत्तासिनले तिर्न सक्छ ? के आज सिंहदरबार भित्र भ्रष्टाचार छैन ? के आजका नेताहरु ५० प्रतिशत मात्रै पनि पारदर्शी जीवन बाँचेका छन् ? के तिनीहरु तिनका दैनिक जीवनको रजगजको श्रोत बताउन सक्छन् ? देशमा रोजगारी नहुँदा जीवनको कुन मूल्य तिरेर आज नेपालीहरु खाडी लगायतका मुलुकमा पसिना चुहाउन बाध्य छन् ? यो देशको गजुरमा शासन गरिरहेकाहरुलाई थाहा छ ?’