काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट नभई उनीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न अपील गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत शर्माले समाधानको बाटो पहिल्याउन सरकारसमक्ष अपील गर्दै यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘जेनजी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको घोर निन्दा गर्दछु। यस क्रममा गोली लागेर मृत्यु भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उनीहरूको तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग दृढ माग गर्दछु । जेनजी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट होइन, उनीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउन सरकारसमक्ष अपील गर्दछु। यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुनेछ।’
उनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउनुपर्नेछ। त्यस्तै, भ्रष्टाचारविरुद्ध कडा कदम चाँडै चाल्नुपर्छ र २०४६ साल यताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न सरकारले ढिलाइ नगर्नु आवश्यक छ।’
उनले सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प नभएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ। यस विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ। सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन । आन्दोलनकारीहरूलाई संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न हार्दिक अपील गर्दछु।’

प्रतिक्रिया