काठमाडौं । काठमाडौंको माइतीघर क्षेत्रबाट जेनजीको प्रदर्शन नयाँबानेश्वरतर्फ अघि बढेको छ । विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रेका जेनजी पुस्ताले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी हुन कतिपय विद्यार्थी कलेज ड्रेसमै आएका थिए ।
उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, लगायतका नारासहितका प्लेकार्डमा बोकेका छन् । उनीहरूले ‘गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ’, ‘जाग लम्क चम्क है नौजवान हो’, ‘यो नेपाली शीर उचाली’ जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएकासमेत थिए ।
आन्दोलनमा सहभागीहरुले भ्रष्टाचार मौलाएकाले प्रदर्शन गर्न आएको बताएका छन् । उनीहरुले नेपाललाई भ्रष्टाचार मुक्त भएको देख्न चाहेकोसमेत बताएका छन् ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले आमजनतालाई हेप्नुसम्म हेपेको बताएका छन् । जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् ।






प्रतिक्रिया