काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले र उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुनसक्ने संकेत गरेका हुन् ।
उनले लेखेका छन्, ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ। सुखद अनुभूति हुनेछ!’
त्यसैगरी उपमहासचिव विष्णु रिमालले केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सर्वोच्च अदालतले सूचीकृत नगरेसम्म सामाजिक संजालमा रोक लगाउने आदेश दिएको उल्लेख गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लागछ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ? सायद, केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन् । लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।’
सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सातदिने सूचना निकालेको थियो । तर अहिलेसम्म कुनै पनि दर्ताका लागि आएका छैनन् ।

प्रतिक्रिया