यथार्थमा राज्य पार्टीको विचारले भन्दा बिचौलिया र दलाल पूँजीपतिहरुको बलले चलेको छः अध्यक्ष प्रचण्ड


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन बिचौलिया र दलालले बनाएको आरोप लगाएका छन् । बुधाबार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकार कांग्रेस र एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘पार्टीका नेताहरूले राज्य चलाएको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेजस्तो देखिन्छ । तर यथार्थमा राज्य पार्टीको विचारले भन्दा बिचौलिया र दलाल पूँजीपतिहरुको बलले, बिचौलियाले करोडौँ र अर्बौं खर्च गरेर पार्टीका नेता खरिद गरेर चलाएको व्यवस्था हो ।’

अध्यक्ष प्रचण्डले आफूले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान छेडेको दाबी गरे । उनले विचौलियाको बलमा राम्रो गर्न खोज्नेहरुलाई सरकारले हटाएको बताए ।

उनले भने, ‘राम्रो गर्न खोज्दा हटाउने, कुलमान हटाउने, कान्छाराम हटाउने काम भए । राम्रो गर्न खोज्दा इन्दिरा राना हटाउन षड्यन्त्र भइरहेको छ जनजाति हटाएका छन् ।’

उनले दलाल बिचौलियाहरुले पैसाको बलमा सेटिङ गरेर राज्य सञ्चालन खोज्नेविरुद्ध सबै पार्टीका महिलाहरूलाई सडक सङ्घर्षमा उत्रिन आह्वान गरे ।

उनले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । प्रचण्डले जुन उद्देश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयन भन्दा संविधानविरुद्ध गतिविधिप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धिहरू उल्टिने खतरा देखिएको छ।’