नारायणकाजीविरूद्धको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग


काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ मागेको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा अदालतकाविरुद्ध लेखेको भन्दै उनीविरुद्ध मोरङका आयुष दाहालले निवेदन दिएका थिए ।

श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमा गरेको पोष्टबाट अदालतको अवहेलना भएको जिकिरसहित निवेदन दर्ता गराएका थिए ।

श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने टिप्पणी फेसबुकबाटै गरेका थिए । उनले लेखेका थिए, ‘अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन ।’

कसूर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद वा दश हजाररुपैयाँसम्म वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ ।