पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे पार्टीले लिएको निर्णयमा विधान महाधिवेशनमा पनि फरक मत राख्छौंः उपाध्यक्ष पाण्डे


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पार्टीले लिएको निर्णयबारे विधान महाधिवेशनमा आफूले फरक मत राख्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले संविधानले रोक्दै नरोकेको विषयलाई पार्टीले विधान बनाएर रोक्न नमिल्ने बताए ।

उनले भने, ‘पछिल्लो केन्द्रीय कमिटी बैठकमा मसहित अरु नेताहरूले फरक मत राख्नु भयो । त्यसलाई तत्कालै भिन्न मतको रुपमा माइन्यूट लेखन लेख्ने टोलीलाई दियौं । त्यो अपानिमा सर्कुलर भएन भनेपछि युवराज ज्ञवाली र म संयुक्त रुपमा छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौं । स्वभाविक रुपमा आगामी विधान अधिवेशनमा हाम्रो यो फरक मत रहन्छ । आउँदो महाधिवेशनको विषयमा पनि हामी उठाउनेछौं ।’

उनले पूर्वराष्ट्रति भण्डारीको सदस्यता पार्टीले रोक्छ जस्तो आफूलाई नलागेको बताए । उनले भने, ‘विद्या भण्डारीको प्रवेशलाई पनि मलाई के लाग्छ भने यो पार्टीले रोक्छ जस्तो लाग्दैन । फर्कंदैन कि फर्कंदैन भनेको यो पार्टी पनि फरक्क फर्कने स्थिति देखिन्छ । हामी आशावादी छौं, हामी त्यहाँसम्म पुग्छौं, जहाँसम्म यो कुरा सच्चिँदैन ।’

उनले पार्टीमा दुई कार्यकालको व्यवस्थाबारे बहस भइरहेको र विधान महाधिवेशनले छिनोफानो गर्ने बताए । उपाध्यक्ष पाण्डेले उमेर हद हटाउने विषय प्राविधिक भए पनि दुई कार्यकालको व्यवस्था उपयुक्त हुने बताए ।

उनले पछिल्लो समय दुई कार्यकालको व्यवस्था ठिक कि बेठिक भनेर पार्टीमा बहस चलिरहेको र यही भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले त्यसको छिनोफानो गर्ने बताए ।

उनले भने, ‘यो बहसमा बहुमत विधान महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन्, त्यही व्यवस्था रहन्छ । तर बहुमतले सधैँ सही निर्णय नगर्न सक्छ ।’ पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले रोक लगाएको थियो । पार्टीको उक्त निर्णयमा पाण्डेले फरक मत दर्ज गरेका थिए ।