गृहमन्त्रीको प्रश्नः अदालतको निर्णय आफ्नो पक्षमा हुँदा अदालत गजब हुने, विरूद्धमा निर्णय भयो भने प्रतिशोध हुन्छ ?


वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए ।

‘ लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौंँ ।’

गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको स्पष्ट पारे । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उनले स्पष्ट पारे ।

गृहमन्त्री लेखकले रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगी प्रकरणमा सरकारले कसैमाथि प्रतिशोध नसाधेको बताए । उनले भने, ‘७ वटा अदालतका बेञ्चले दोषी भनेर थुनामा जानुभाछ, अनि के भन्नुहुन्छ भने प्रतिशोध भन्नुहुन्छ, देशमा २८ हजारभन्दा बढी मान्छे थुनुवा र कैदी छन्, ती सबैमाथि प्रतिशोध भा हो, सबैका माथि अदालतले गलत निर्णय गरेको हो ? अदालतको निर्णय आफ्नो पक्षमा हुँदा अदालत गजब हुने, स्वतन्त्र हुने, राम्रो हुने, आफ्नो विरूद्धमा निर्णय भयो भने प्रतिशोध हुन्छ ?’

भिजिट भिसा प्रकरणमा आफूले राजीनामा दिनुनपर्ने बताए । उनले भने, ‘केका लागि दिनुपर्ने ? कुनै कार्यालयमा अनियमितता भएको छ भने पनि त्यसको छानबिन भैहाल्छ, अख्तियारले छानबिन गरिरहेको छ, कुनै कार्यालयमा अख्तियारले छानबिन गर्ने बित्तिकै मन्त्रीले राजीनामा दिने हो भने वर्षमा कति जना मन्त्रीले राजीनामा दिनुपर्ला हिसाब गर्नुभएको छ ?’