अफगानिस्तानमा भूकम्पः २५० भन्दाबढीको मृत्यु


सीएनएन । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा ठूलो जनधनको क्षति भएको छ ।

राज्य सञ्चालित बख्तर समाचार एजेन्सीका अनुसार कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । भूकम्प नांगरहार प्रान्तको जलालाबाद शहरबाट करिब २७ किलोमिटर उत्तर–पूर्वमा, करिब ८ किलोमिटरको गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभागले जनाएको छ ।

करिब पाँच लाख मानिसले भूकम्पको झट्का महसुस गरेको अनुमान गरिएको छ । उद्धार तथा राहत टोलीलाई पहिरोका कारण दुर्गम बस्तीमा पुग्न कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पूर्वी प्रान्तहरूमा ठूलो क्षति भएको बताउँदै उद्धार कार्यका लागि सबै उपलब्ध स्रोत परिचालन गरिएको जानकारी दिए ।

भूकम्पको धक्का पाकिस्तानका खैबर पख्तूनख्वा र पञ्जाब प्रान्तका विभिन्न शहरमा समेत महसुस गरिएको पाकिस्तानी मौसम विभागले जनाएको छ । ठूलो भूकम्पपछि ५.२ म्याग्निच्युडसम्मका पाँच पराकम्पन समेत आएका छन् ।