काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउन नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको बताएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको बताएका हुन् ।
उनले सत्तारूढ दलहरूले उपसभामुख पदको अवमूल्यन गरिरहेको बताए । उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ । लोकतन्त्रको विरासत धानेको भनिएकाहरूबाट सार्वभौम संसदको उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको छ भन्ने रास्वपाको ठम्याइ हो । बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भइरहेको छ । सांसदको विवेक बन्दी नबनाऊ ।’
उनले कांग्रेसलाई लोकतन्त्रका लागि हार्न तयार भएका संस्थापक नेता बीपी कोइराला र एमालेलाई सामन्तवादको खरो विरोध गर्ने आफ्ना नेता मदन भण्डारीलाई सम्झिन सुझाव आग्रह गरेका छन् ।
उनले भने, ‘लोकतन्त्रका लागि हार्न तयार हुने बीपी कोइरालालाई फर्किएर हेर्नुस् नेपाली कांग्रेसका मेरा श्रद्धेय नेताज्यूहरू । सामन्तवादमात्रै होइन, पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीलाई उँभो लाग्न दिँदैन भन्ने कमरेड मदन भण्डारीलाई सम्झन म नेकपा एमालेका श्रद्धेय मेरा नेताहरूलाई अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया