हस्ताक्षर संकलनका विषयमा सत्तारुढ दलका सांसद अनभिज्ञ, भन्छन्-निर्देशन अनुसारको काम गरियो


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन नगरिएको दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा हस्ताक्षर संकलनमा सभागी कांग्रेस र एमालेका सांसदहरुले यो उपसभामुख हटाउने उद्देश्यले नभएको जिकिर गरेका हुन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको दाबी गरे ।

उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको बताए । उनले भने,‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होइन । संयोगले एकैदिन परेको मात्रै होला । हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन् । कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होइन । यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन ।’

त्यस्तै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पनि निर्देशनअनुसार हस्ताक्षर गरेर आएको तर विषयबारे आफूलाई जानकारी नभएको बताए । उनले भने,‘निर्देशन अनुसारको काम गरियो, सूचना थाहा भएन । संसदीय दलको कार्यालयमा आउनु र प्रमुख सचेतकसँग भेट्नु भन्ने थियो । भेटेर आएँ । सन्चो विसन्चोको कुरा भयो । आँखाको भाकाले कुरा गरियो ।’

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता नभएको बताए ।

उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै संचारमाध्यममा आएका कुराहरु सत्य नभएको बताए ।

उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौ । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौं । कुनै छलफल पनि भएको छैन । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन ।’

त्यस्तै, नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोगबारे थाहा नभएको भन्दै सबै जनासँग छलफल भइरहेको बताए । उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाईले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाई चाहिन्छ ।’