रञ्जिताको टाउकोमा दोष थोपर्दै दल दर्ता नहुनुमा आफ्नो कमजोरी नभएको भन्दै पन्छिए रेशम


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन प्रयोजनका लागि दल दर्ता नहुनुमा आफ्नो कमजोरी नभएको बताएका छन् । मंगलबार सामजिक संजालमार्फत चौधरीले आफू अध्यक्ष नभएकाले त्यसमा आफ्नो कमजोर नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रीय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रीय समितिको बैठक बसाउने, न लेखापरीक्षण गराउने, न पार्टीलाई चलायमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? अहिलेपनि तुरुन्त केन्द्रीय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकी मनोनीत साथीहरूलाई अद्यावधिक गराइदिनु, टण्टै साफ ।’

उनले दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै नजितिने बताएका छन् । उनले भनेका छन्, ‘दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन, सहयोद्धा पनि हौं । रह्यो कुरा रुपन्देहीको । हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक व्यक्ति हो । यही सातादेखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउन तिर होइन, समाधान तिर लागौं । पार्टी विभाजनका सहयोगीलाई दलबाट मात्रै होइन, समूहबाटै बहिष्कार गरौं ।’

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर रेशम पक्षले उनका पिता लालबीर चौधरीलाई केही दिनअघि अध्यक्ष बनाएको थियो । तर भेला अवैधानिक भन्दै निर्वाचन आयोगले त्यो निर्णयलाई मान्यता दिएन ।

त्यस्तै आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्तिलाई अयोग्य ठहर गरेको छ । नयाँ कार्यसमितिले वैधानिकता नपाउनु, अध्यक्ष रञ्जिता श्रेष्ठले दल दर्ता हुन केन्द्रीय समितिको निर्णय र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्न नगरेकाले आयोगले नाउपालाई अयोग्य ठहर गरेको हो ।