उपसभामुख रानालाई हटाउने कांग्रेस-एमालेको तयारी


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रानालाई महाअभियोग लगाएर पदबाट हटाउने तयारी सत्तारुढ दलहरूले गरेका छन् ।

त्यसको तयारी स्वरुप हस्ताक्षर संकलनका लागि एमालेले आज आकस्मिक संसदीय दलको बैठक राखेको छ र सांसदहरुलाई हस्ताक्षर संकलन गर्न लगाएको छ । त्यस्तै उनेपाली कांग्रेसले पनि आफ्ना सबै सांसदहरुलाई संसदीय दलको कार्यालय बोलाएर हस्ताक्षर संकलन गरिरहेको छ । उपसभामुखविरुद्ध महाभियोगको लागि छलफल र हस्ताक्षरको लागि सांसदहरुलाई बोलाइएको बताइएको छ ।

उपसभामुख इन्दिरा रानामगरले उपसभामुखको लेटरप्याडमा विभिन्न व्यक्तिहरुलाई अमेरिकाको भिसा दिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा उनीविरुद्ध छानबिनको माग भइरहेको छ । यही विषयलाई मुख्य आधार बनाएर उपसभामुखविरुद्ध महाभियोगको तयारी गरिएको हो ।

महाभियोग प्रस्ताव पारित हुनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत चाहिन्छ । तर, सत्ता साझेदार दलहरुले दुई तिहाइ बहुमत जुटाउन कठिन छ ।

उपसभामुख संवैधानिक परिषदको सदस्य हुने भएकोले उपसभामुख आफ्नो दलबाट बनाएर संवैधानिक परिषदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेसको योजना छ । यसकै लागि उपसभामुखविरुद्ध महाभियोगको तयारी गरिएको बताइएको छ ।