पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कतिपय मान्छेहरुले सरकार ढाल्न अपनाएको हतकण्डा असफल भएपछि सरकारप्रति चासो छैन भन्न थालेको बताएका छन् ।
नेपाल पत्रकार महासंघले आइतबार पाल्पाको तानसेनमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले सरकार ढाल्नका लागि गरिएका सबै प्रयास असफल भएपछि माओवादी सरकारप्रति चासो नभएको भन्दै हिँड्न थालेको बताए ।
उनले देश विकास, स्थिरता र समृद्धिको तर्फ देशलाई अगााडी बढाउन वर्तमान एमाले र काग्रेस सहितको गठबन्धन सरकार २०८४ को आमनिर्वाचनसम्म पुग्ने बताए । पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्वको अंकगणित अनुसार वर्तमान समीकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार भएको बताए ।
उनले कसैले चाहेर, रोई कराई गरेर, नानाथरी बोलेर यो सरकार ढल्ने कुनै वातावरण र अवस्था नरहेको भन्दै देश विकासको बाधकको रुपमा तीनवटा प्रमुख अस्थिरताहरू देखापरेपनि तिनीहरू किनारा लागेको बताए ।
उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको भेल भएको बताए । उनले भने, ‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन् । रास्वपा पनि अब हराउँदै जानेछ । विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन ।’
उनले प्रतिगामी तत्व राजावादीहरु, राजनीतिमा देखापरेको एजेण्डाविहीन खहरेखोला प्रवृत्ति र सत्ता प्राप्तीका लागि प्रमुख प्रतिपक्षीको चलखेल जस्ता प्रवृत्ति समाप्त भएको बताए । उनले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरुको कुनै भविष्य नभएको दाबी गरे ।

प्रतिक्रिया