-ज्यास्मिन फोक्स-स्केली
भिटामिन सप्लिमेन्ट हाम्रो आहारमा भएको भिटामिनको कमी पूर्तिका लागि एउटा राम्रो तरिका हुन सक्छ। तर त्यो नै एक मात्रै वा उत्तम विकल्प होइन। भिटामिन र मिनरल सप्लिमेन्टको बजार ३२.७ अर्ब अमेरिकी डलरको रहेको अनुमान गरिन्छ र ७४% भन्दा बढी अमेरिकीहरू र दुई तिहाइ ब्रिटिशहरूले आफ्नो स्वास्थ्य सुधारको प्रयासमा यसको प्रयोग गरेको स्वीकारेका छन्।तथापि यी चक्कीहरू विवादमा परेका छन्। केही अध्ययनहरूले तिनीहरूको कुनै स्पष्ट स्वास्थ्य लाभ नभए को देखाएका छन् र अन्यले तिनीहरूले मानिसको स्वास्थ्यमा हानि पुर्याउन सक्ने पत्ता लगाएका छन्। त्यसो भए प्रमाणहरूले वास्तवमा के देखाउँछन् ? के हामी सबैले भिटामिन सप्लिमेन्टहरू लिनु पर्छ वा हामीमध्ये केहीले मात्र लिनु पर्छ?
मानिसहरूले भिटामिन र मिनरल्स किन लिन्छन्?
भिटामिन र मिनिरल्स(खनिज)हरू यौगिक हुन् जुन हाम्रो शरीरले बनाउँदैन तर हाम्रो स्वास्थ्यको लागि आवश्यक पर्छ। किनकि हामी तिनीहरूलाई बनाउन सक्दैनौँ तर खानाबाट प्राप्त गर्नु पर्छ। उदाहरणका लागि भिटामिन ए आँखाको स्वास्थ्यका लागि र स्वस्थ छालाका लागि महत्त्वपूर्ण छ; भिटामिन सी हाम्रो प्रतिरक्षा प्रणालीको लागि आवश्यक छ, र भिटामिन के रगत जम्नका लागि आवश्यक हुन्छ। आवश्यक खनिजहरूमा क्याल्सियम, म्याग्नेसियम, सेलेनियम, पोटासियम र अन्य पर्छन्। भिटामिन र मिनरल्सलाई माइक्रोन्यूट्रिएन्टको रूपमा वर्गीकृत गरिएको छ किनकि हामीलाई कार्बोहाइड्रेट, प्रोटीन र फ्याट जस्ता म्याक्रोन्यूट्रिएन्ट्सको तुलनामा माइक्रोन्यूट्रिएन्टहरू थोरै मात्रामा मात्र आवश्यक पर्छ। कुनै पनि सप्लिमेन्टले कहिल्यै स्वस्थ र सन्तुलित आहारलाई प्रतिस्थापन गर्दैन भन्नु उपयुक्त हुन्छ। त्यसैले भिटामिनको लागि शरीरको आवश्यकता पूरा गर्ने सबैभन्दा राम्रो तरिका भनेको हरियो सागपात, फलफूल, अन्न, मेवा, दूधजन्य खानेकुरा र माछा प्रशस्त मात्रामा खानु हो।
तथापि अनुसन्धानले यो पनि देखाउँछ कि हामीमध्ये धेरैले यो अभ्यासलाई पालन गरिरहेका छैनौँ। अति प्रशोधित उत्पादनहरूको साथ फास्ट फूड आउनुको अर्थ हामी घरमा पकाएको खानाको सट्टा सजिलै पाइने खानेकुरा रोज्छौँ। अमेरिकाको कृषि विभागको ह्युमन न्युट्रिशन रिसर्च सेन्टर एन्ड एजिङका वरिष्ठ वैज्ञानिक तथा टफ्ट्स युनिभर्सिटीका मेडिसिनका प्राध्यापक बेस डसन-ह्युग्स भन्छन्, ‘औसत अमेरिकीले सिफारिस गरिएका फलफूल र सागसब्जीमध्ये आधा मात्र खाने गरेका छन्।’ त्यसैले यदि तपाईँ पनि त्यही बाटोमा हुनुहुन्छ भने सम्भवतः केही आवश्यक पोषक तत्त्वहरू गुमाउँदै हुनुहुन्छ।
के मल्टिभिटामिनले पोषणपूर्ति गर्छन्?
के पोषण नपुगेको अवस्थाका लागि मल्टिभिटामिनले त्यो खाडल भर्न सक्छ? यसको उत्तर जटिल छ। सन् १९७० को दशकमा भिटामिन सीको मात्राले पश्चिमी विश्वमा फैलिएको रुघाखोकीबाट बच्न मद्दत गर्न सक्छ भन्ने सिद्धान्तका लागि रसायनशास्त्री लाइनस पउलिङले नोबेल पुरस्कार जिते। उनैले भिटामिन सीको सिफारिस गरिएको मात्राभन्दा ५० गुणासम्म सेवन गर्नाले इन्फ्लुएन्जा, कार्डियोभास्कुलर रोग, मोतिया बिन्दुजस्ता कुनै पनि रोगको उपचार गर्न सकिन्छ भनी दाबी गरे।
क्यान्सरको रोगको पनि उपचार हुन सक्ने उनले दाबी गरेका थिए। भिटामिन ‘सी’ को अत्यधिक सेवनले रुघाखोकी निको हुन्छ भन्ने धारणालाई पूर्णतया खारेज गरिदिए पनि अझै पनि धेरै यो विश्वासमा अडिग छन्। आजको दिनमा इन्फ्लूएन्सर्सहरूले सप्लिमेन्टहरूले ५०० प्रतिशत वा १,००० प्रतिशतसम्म सूक्ष्म पोषक तत्त्वहरूको सिफारिस गर्छन्। जबकि भिटामिन सप्लिमेन्टहरूमा सामान्य रूपमा नियमनको अभाव हुन्छ, सूचीमा नरहेका सामग्रीहरू राखिएको हुन्छ र नियन्त्रित परीक्षणहरू गरिएको हुँदैन।
भिटामिन र खनिज पदार्थमा ‘मेगा डोजिङ’ खतरनाक हुन सक्छ। धेरै भिटामिन डी खाँदा तिर्खा लाग्ने र बारम्बार पिसाब फेर्नुपर्ने जस्ता लक्षणहरू देखिन सक्छ। तर गम्भीर अवस्थामा यो नै बेहोस हुने, कोमा र मृत्युको कारण बन्न सक्छ। यसैबीच, अमेरिकामा न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ (एनआईएच)ले भिटामिन ए धेरै सेवन गर्दा त्यसले ‘चरम टाउको दुख्ने, धमिलो देख्ने, वाकवाकी लाग्ला जस्तो हुने, रिँगटा लाग्ने, मांसपेशी दुख्ने, र समन्वयमा समस्या हुने हुन्छ। अझै गम्भीर अवस्थामा धेरै भिटामिन ए खाँदा त्यसले मानिसलाई कोमामा पुर्याउने वा मृत्यु नै हुनसक्ने समेत हुन्छ।’
भिटामिन र खनिजहरूमा गरिएको क्लिनिकल परीक्षणहरूमा कहिलेकाहीँ विरोधाभासपूर्ण परिणामहरू पनि आउँछन्। भिटामिन सप्लिमेन्टहरू खाँदा फाइदा पुग्छ कि पुग्दैन भन्ने कुरा कसले सप्लिमेन्ट खाएको छ भन्ने कुरा र सप्लिमेन्टमा रहेका सूक्ष्म पोषक तत्त्वमा निर्भर गर्छ। भिटामिन ई पनि धेरै खाँदा त्यसले मष्तिष्कघातको खतरा बढाउने एउटा क्लिनिकल परिक्षणले देखाएको छ। ‘भिटामिन ई मा रगत पातलो बनाउने तत्त्व हुन्छ, त्यसैले धेरै भिटामिन ई खाँदा त्यसले रगतलाई कम जम्न दिन्छ र त्यसले मस्तिष्कमा रगत बग्ने खतरा बढाउँछ,’ हार्वर्ड स्कूल अफ पब्लिक हेल्थका इपिडिमियोलोजीकी प्राध्यापक जोआन म्यान्सनले भनिन्।
भिटामिन डी खान किन महत्त्वपूर्ण छ?
सुझाइएको भन्दा धेरै एन्टिअक्सिडेन्ट लिन सिफारिस गरिँदैन। तर अन्य भिटामिनहरू चाहिँ ? धेरै मानिसहरूले पर्याप्त मात्रामा नपाएको एउटा पोषक तत्त्व भनेको भिटामिन डी हो। भिटामिन डी हड्डीहरू स्वस्थ बनाउन आवश्यक अणु हो। भिटामिन डी प्राविधिक रूपमा भिटामिन होइन किनभने जबसम्म हाम्रो छालाले प्रशस्त सूर्यको प्रकाश प्राप्त गर्दछ तबसम्म हाम्रो शरीरले यसलाई पर्याप्त बनाउन सक्छ। हामी यसलाई केही खाद्य पदार्थहरूबाट पनि प्राप्त गर्न सक्छौँ। किनभने जाडो महिनामा हामी पर्याप्त मात्रामा घामका किरण पाउँदैनौँ। यूकेको जनस्वास्थ्य निकायले अक्टोबर महिनादेखि मार्च महिनासम्म भिटामिन खान सबैलाई सुझाएको छ।
भिटामिन डीलाई हेर्ने मुख्य अध्ययनमध्ये एउटा भनेको म्यान्सनको द भाइटल ट्रायल हो जसमा २५,००० भन्दा बढी अमेरिकी वयस्कहरू सामेल थिए। भिटामिन डी वा ओमेगा-३ फ्याटी एसिडको दैनिक सेवनले यी रोगहरूको कुनै पूर्व इतिहास नभएका व्यक्तिहरूमा क्यान्सर, हृदय रोग र स्ट्रोकको जोखिम कम गर्छ कि भनेर अनुसन्धान गरिएको थियो। भिटामिन डी सप्लिमेन्टले कार्डियोभास्कुलर रोग, स्ट्रोक वा क्यान्सर फैलाउन असर नगरे पनि भिटामिन डी लिने समूहमा क्यान्सरबाट हुने मृत्युमा १७ प्रतिशतले कमी आएको थियो। जब म्यान्सनले दुई वर्ष वा सोभन्दा बढी समयदेखि भिटामिन डी लिइरहेका व्यक्तिहरूमा मात्र ध्यान केन्द्रित गरे त्यहाँ क्यान्सरबाट हुने मृत्युमा २५ प्रतिशत कम देखियो जुन उल्लेख्य हो। र, मेटास्टेटिक क्यान्सरमा पनि १७ प्रतिशत कमी देखिएको थियो।
‘भिटामिन डीले ट्यूमर कोषहरूको जीवविज्ञानलाई असर गर्न सक्छ जसले गर्दा तिनीहरू कम आक्रामक हुन्छन् र मेटास्टेसिस हुने सम्भावना कम हुन्छ तर यसले क्यान्सरको पहिलो निदानलाई असर गर्दैन,’ म्यान्सन भन्छिन्। महत्त्वपूर्ण परीक्षणले यो पनि देखाएको छ कि भिटामिन डी सप्लिमेन्टहरूले रुमेटोइड आर्थराइटिस र सोरायसिस जस्ता अटोइम्युन रोगहरूको दरलाई उल्लेखनीय रूपमा कम गर्दछ। हड्डीलाई स्वस्थ राख्न भिटामिन डी महत्त्वपूर्ण भएकाले यसले खासगरी उमेर पाका भएका मानिसहरूलाई हड्डी भाँचिनबाट जोगिन्छ भन्ने दाबी बेला बेला गर्ने गरिन्छ।
सन् २००० को दशकमा फ्रान्समा गरिएको क्लिनिकल परीक्षणमा वृद्धवृद्धा, विशेषगरी केयर होममा बस्ने महिलाहरूले भिटामिन डीको सप्लिमेन्टबाट फाइदा लिन सक्ने पत्ता लागेको थियो। यद्यपि, त्यसपछिका प्रमाणहरू मिश्रित छन्। द भाइटल ट्रायलले भिटामिन डीले हड्डीलाई भाँचिनबाट रोक्न नसक्ने पत्ता लगाएको छ। अन्य दुई अध्ययनहरू भाइडा र डी-हेल्थले पनि फ्रैक्चर हुने वा ह्रास आउनका लागि भिटामिन डी सप्लीमेन्टहरू लिनुको कुनै महत्त्वपूर्ण लाभ नभएको पत्ता लगाए। यद्यपि परीक्षणका सहभागीहरूले उनीहरूसँग पहिले नै पर्याप्त भिटामिन डीको मात्रा भएका कारण लाभ उठाउन नसकेको हुन सक्ने डसन-ह्यूग्सले बताए।
‘यीमध्ये कुनै पनि परीक्षणले भिटामिन डीको मात्रा कम भएका वृद्धहरूलाई मापदण्डको रूपमा चयन गरेन र भिटामिन डी सबै कुराको उपचारको रूपमा प्रचार गरिएको समयमा भएको थियो। त्यति बेला अमेरिकामा भिटामिन डीको बिक्री बढ्दो थियो,’ डसन-ह्युग्स भन्छन्। ‘परिणामस्वरूप अधिकांश परीक्षणमा सहभागीहरूको भिटामिन डीको अवस्था पहिले नै चाहिए जति वा राम्रै दायरामा थियो।’
मल्टिभिटामिन कस्तो अवस्थामा लिनुपर्छ ?
चाखलाग्दो कुरा के छ भने विशेषगरी वृद्ध वयस्कहरूले दैनिक मल्टिभिटामिन खानु स्वास्थ्यका लागि लाभदायक हुन सक्छ। म्यान्सनले २० वर्षभन्दा पहिलादेखि गर्दै आएको अध्ययन अनुसार ११ वर्षसम्म दैनिक मल्टिभिटामिन सेवन गर्ने व्यक्तिहरूमा क्यान्सर देखिने जोखिम ८ प्रतिशत कम थियो। सबैभन्दा ठूलो फाइदा ७० वर्षभन्दा बढी उमेरका वृद्ध सहभागीहरूमा थियो जसले प्लसीबो (साँचैको औषधिभन्दा पनि मानसिक सन्तुष्टिका लागि दिइने पदार्थ) समूहको तुलनामा मल्टिभिटामिन लिएका थिए जसमा क्यान्सरमा १८ प्रतिशत कमी देखिएको थियो। म्यान्सन भन्छिन्, ‘वृद्ध वृद्धाहरूको खानपान अलि कम भएकोले यस्तो भएको हुन सक्छ।’ ‘वा भिटामिन र खनिजहरू शरीरले कम लिन सक्ने भएका कारण यो समूहलाई बढी फाइदा भएको हुन सक्छ।’
‘क्यान्सर, मोतिबिन्दु र स्मृतिमा असर गर्ने यी सबै उमेरसँग सम्बन्धित रोगहरू हुन् र मल्टिभिटामिनहरूले ती सबै कम गर्ने विषयसँग जोडिएको परीक्षणहरूमा देखिएको छ,’ म्यान्सन भन्छन्। त्यसो भए कसले भिटामिन लिनुपर्छ? म्यान्सन र डसन ह्युग्स दुवै भिटामिन चक्की लिनु अधिकांश मानिसहरूका लागि अनावश्यक रहेको र स्वस्थ र राम्रो सन्तुलित आहारबाट आवश्यक पोषक तत्त्वहरू लिनु उत्तम हुने बताउँछन्। खाद्य स्रोतहरूबाट भिटामिन लिँदा त्यसलाई शरीरले सजिलै लिन्छ। साथै फाइबर जस्ता खाद्य पदार्थहरूमा अन्य पोषक तत्त्वहरूको पनि लाभ पाइन्छ जुन पेटको स्वास्थ्यका लागि महत्त्वपूर्ण छ। भिटामिन र खनिजहरू हाम्रो स्वास्थ्यको लागि आवश्यक भए पनि शरीरलाई राम्रोसँग काम गर्नको लागि थोरै मात्रामा आवश्यक पर्छ।
अध्ययनहरूले स्पष्ट रूपमा के देखाउँछ भने मात्राभन्दा बढी लिनुले कुनै फाइदा गर्दैन। यद्यपि स्पष्ट रूपमा हामीमध्ये केही छन् जसले मल्टिभिटामिनबाट फाइदा लिन सक्छन् जसलाई सुझाइए अनुसार उनीहरूले लिइरहेका हुन्छन्। एनएचएसले गर्भवती महिलाले मल्टिभिटामिन र फोलिक एसिड लिनुपर्ने सुझाएको छ जसले भ्रूणको विकासका क्रममा न्यूरल ट्यूबसम्बन्धी असरलाई कम गर्नसक्छ। शाकाहारी वा धेरै माछा नखाने व्यक्तिहरूले ओमेगा-३ भएको चक्कीहरू लिएर फाइदा उठाउन सक्छन् भन्ने कुराको राम्रो प्रमाण पनि छ। द भाइटल अध्ययनले के देखाएको छ भने ओमेगा-३ दिइएका व्यक्तिहरू जसले माछा खाँदैनन् उनीहरूमा प्लसीबोको तुलनामा कार्डियोभास्कुलरसम्बन्धी समस्याहरूमा १९ प्रतिशत कमी देखिएको थियो।
यद्यपि हप्तामा डेढ पटकभन्दा बढी माछा खानेहरूलाई भने कुनै फाइदा भएन। त्यहाँ केही अवस्थाहरू पनि छन् जसले शरीरको भिटामिन लिने क्षमतामा हस्तक्षेप गर्छ। टाइप २ मधुमेहको उपचारमा प्रयोग गरिने मेटफर्मिन जस्ता केही औषधीले पनि भिटामिन शरीरले लिने कुरामा असर गर्छ। ‘मेगा-डोजिङ’ वा सिफारिस गरिएको भन्दा बढी भिटामिनको मात्रा लिनु ठिक नहुने म्यान्सन बताउँछिन्। ‘तर मल्टिभिटामिनहरू धेरै सुरक्षित छन्। त्यसैले मलाई लाग्छ यदि कसैलाई उनीहरूले पर्याप्त स्वस्थ सन्तुलित आहार पाइरहेका छन् कि छैनन् भनेर चिन्ता छ भने मल्टिभिटामिन लिनुले यी आवश्यक भिटामिनहरू र खनिजहरू उनीहरू प्राप्त गरिरहेका छन् भनेर सुनिश्चित गर्नका लागि त्यसो गरेको हुन सक्छ।
-बीबीसीबाट ।

प्रतिक्रिया