काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ । बिहीबार काठमाडौंमा दुवै पार्टीले कार्यगत एकताको पत्रमा हस्ताक्षर गरेका छन् ।
जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यगत एकता भएपछि पनि अन्य कुनै दलसँग छुट्टै सहकार्य, कार्यगत एकता, मोर्चा निर्माण वा दल एकता गर्नलाई यो कार्यगत एकता बाधक नहुने बताइएको छ । त्यस्तो अवस्थामा पनि यो कार्यगत एकता कायमै रहने र आचारसंहिता दुई दलबीचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुवै दलले पालना गर्नुपर्नेछ ।
प्रत्येक घटकहरूले आफूलाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने र संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीतिविरुद्ध सार्वजनिक टीकाटिप्पणी गर्न नपाइने उल्लेख छ । आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुवै दल स्वतन्त्र हुने बताइएको छ ।





प्रतिक्रिया