प्रधानमन्त्रीलाई रास्वपाको आग्रहः सुशासनको भाषण दिनुभन्दा पहिले आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्नुस्


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीले अदालतमा हस्तक्षेप गरेको आरोप लगाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठका रास्वाकी सांसद चन्दा कार्कीले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारेको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट पठाइएको सूचनाहरू आइरहेको बताएकी हुन् ।

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएको भएपनि गृहमन्त्री रमेश लेखकको नैतिकता जगाउन नसकेको बताइन् ।

उनले भनिन्, ‘मानव तस्करीको विषय मात्रै होइन न्यायालयमा हस्तक्षेप भएको कुरा पनि पूर्वन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति सार्वजनिक नै छ। रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारेको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट पठाइएको सूचनाहरू आइरहेका छन्। जुन दिन पेसी चढेको छ उही दिन योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ।’

उनले केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले पनि न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै यसबारे सरोकारवाला निकायको गम्भीर ध्यान जानुपर्ने बताइन् ।

सांसद कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताइन् । ‘अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन । राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ ? म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनिन् ।

प्रधानमन्त्रीको ‘सुशासन’ सम्बन्धी दावीप्रति प्रश्न उठाउँदै सांसद कार्कीले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको तर्क गरिन् ।

उनले भनिन्, ‘पुराना काण्डहरूको छिनोफानो नहुँदै नयाँ–नयाँ ‘लिचिबारी काण्ड’, ‘विधेयक छेडछाड काण्ड’, ‘फर्जी कार्यक्रम र विदेश भ्रमण काण्ड’ एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।’

सांसद कार्कीले प्रधानमन्त्रीलाई ‘सुशासन’को भाषण दिनु अगाडि आफ्ना मन्त्रीहरूको आचरण, काम र सम्पत्ति छानबिन गर्न तथा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरिन् । उनले भनिन्,‘सुशासनको भाषण दिनुभन्दा पहिले आफ्ना मन्त्रीहरूको काम, आचरण, सम्पत्ति जाँच गर्नुहोस् र केही नछुटाएर सार्वजनिक गर्नुहोस् ।’