काठमाडौं । वामपन्थी पार्टीहरूबीचको एकता र समसामयिक राजनीतिक विषयमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल गरेका छन् ।
बिहीबार बिहान खनाल निवास डल्लुमा छलफल भएको खनालको निजी सचिवालयले जनाएको छ । छलफलमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी थिए ।
त्यस्तै वाम पार्टीको तर्फबाट अखिल नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण शर्मा, अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता रामबहादुर बुढा, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सन्तबहादुर नेपालीलगायतका वामपन्थी नेताहरू सहभागी थिए ।
केही दिनयता खनालले वामपन्थी पार्टीहरुबीचको एकताकाबारेमा विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छन् । केही दिनअघि खनाल र नेकपाका महासचिव विप्लव, पार्टीका नेता वामदेव गौतम, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए ।



प्रतिक्रिया