भिजिट भिसा प्रकरण छानबिनका लागि कल्याण श्रेष्ठ वा सुशीला कार्की मध्ये एक जनाको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न राप्रपाको प्रस्ताव


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशीला कार्की मध्ये कुनै एक जनाको अध्यक्षतामा न्यायिक आयोग गठनको माग गरेको छ ।

प्रतिनिधिसधाको बुधबारको बैठकमा राप्रपाका सांसद दीपकबहादुर सिंहले श्रेष्ठ वा कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठनको माग गरेका हुन् ।

उनले भने, ‘यो संसद्का सबै सम्पूर्ण माननीयज्यूसँग म अनुरोध गर्न चाहन्छु– कल्याण श्रेष्ठ या सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरौँ । यदि बदमासी कसैले गरेको छ भने सजाय उसले पाउनुपर्छ । जसले बदमासी गरेको छैन, जस्तो सुकै आयोग गर्दाखेरि पनि के फरक पर्ने छ ?’

उनले गल्ती नगरेको भए जस्तोसुकै छानबिन आयोग आएपनि डराउनु नपर्ने बताए । उनले भिजिट भिसाको काण्डले सदनमा मात्र नभई विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको बताए । सांसद सिंहले न्यायिक आयोग नबन्दासम्म राप्रपाले संसद बहिष्कारलाई निरन्तरता दिने पनि बताए ।