रामहरिले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा


काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा खतिवडाले समितिको सभापति पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

उनले आफू कूटिल राजनीतिको सिकार हुन पुगको बताए । जो कुलिङ अफ पिरियड चाहिन्छ भनेर लाग्यो उही दोषी देखिने जस्तो देखाउन खोजिएको भनेर उनले आफूलाई चिन्ता लागेको बताए ।

निजामती विधेयकको कुलिङ पिरियडमा भएको त्रुटि छानबिन गर्न गठित संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो ।

त्यसपछि उनको राजीनामा माग्न थालिएको थियो । राजीनामा दिनु अघि खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए ।

उनले सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताए । कर्मचारीका लागि विश्वास गर्दा त्रुटि हुन पुगेको उल्लेख गर्दै उनले प्रतिवेदन अगाडि बढेपछि आफूले मात्रै नभएर संसदका सबै सदस्यले हेरेको बताए ।