अदालतलाई भ्रममा पार्न खोजेको भन्दै रवि लामिछानेविरुद्ध न्याय परिषदमा उजुरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दामा प्रभाव पार्न खोजेको भन्दै न्याय परिषदमा उजुरी परेको छ । अधिवक्ता रमेशबहादुर रावलले न्याय परिषदमा उजुरी गरेका हुन् ।

रुपन्देही जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा प्रतिवादी रवि लामिछानेले सर्वोच्च अदालतमा गैरसम्बन्धित निवेदन दर्ता गराई अदालतलाई भ्रममा पार्न खोजेको निवेदनमा दाबी गरिएको छ ।

मुद्दा अझै टुंगोमा नपुगेको अवस्थामा केही प्रतिवादीहरू मात्र दोषी ठहर हुने र बाँकी निर्दोष हुने दाबी गर्दै थुनामुक्तिको बाटो खोल्ने प्रयास भएको निवेदनमा जनाइएको छ ।

उजुरीमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछाने समेतको मुद्दा सम्मानित रुपन्देही जिल्ला अदालतमा विचाराधीन नै रहेको अवस्थामा मुद्दामा हुनसक्ने फैसलालाई प्रभावित हुनेगरी प्रतिवादीको तर्फबाट निवेदन दर्ता भएको छ । उक्त निवेदनमा निजका विरुद्ध लागेको सम्पूर्ण अभियोगको वारेमा उल्लेख नगरी केवल ठगी मुद्दाको मात्र उल्लेख तथा अदालतबाट फैसला हुँदा हुन सक्ने कैद र जरिवानाको विषयलाई लुकाई छिपाई अदालत समेतलाई भ्रममा पारी मुद्दाको फैसला हुनुअगावै २२ जना प्रतिवादी भएको मुद्दामा ४ जनाविरुद्ध मात्रै कसूर ठहर हुन्छ भन्ने ठोकुवा गर्दै अभियोग दावी बमोजिमको विगोलाई आफुखुसी भागलगाई विगोको केही प्रतिशत आफ्नो भागमा पर्नेछ भनी आफ्नो मुद्दा आफैं फैसलागरी दर्ता नै हुन नसक्ने निवेदन दर्ता गरेको रहेछ ।’

उजुरीमा उल्लेख भएअनुसार लामिछानेको प्रत्यक्ष संलग्नतामा केही व्यक्तिहरूलाई आर्थिक लाभ हुने गरी नीतिगत र प्रशासनिक प्रक्रिया तोडमोड भएको र यसमा उनको निकटवर्तीहरूको समेत संलग्नता रहेको दाबी छ।