टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु, एक दर्जन घरमा क्षति


इस्तानबुल । आइतबार टर्कीको उत्तरपश्चिमी बालिकेसिर प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एकजनाको मृत्यु र २९ जना घाइते भएका छन् ।

भूकम्पबाट दर्जनभन्दा बढी भवन भत्किएका अधिकारीहरूले जनाएका छन् । सिन्डिर्गी शहर केन्द्रबिन्दु भएको भूकम्पको धक्का झण्डै २०० किलोमिटर टाढासम्म, राजधानी इस्तानबुलमा पनि महसुस गरिएको थियो ।

गृहमन्त्री अली येरलिकायाका अनुसार सिन्डिर्गीमा भत्किएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गरिएकी वृद्ध महिलाको केहीबेरमै मृत्यु भयो । अन्य चारजनालाई पनि उद्धार गरिएको छ ।

भूकम्पले १६ भवन र दुई मस्जिदका मिनार भत्काएको बताइएको छ। घाइतेमध्ये कोही पनि गम्भीर अवस्थामा नरहेको जनाइएको छ । टर्कीको विपत्ति तथा आपतकालीन व्यवस्थापन एजेन्सीले ४.६ म्याग्निच्युडसहितका पराकम्पहरू गएको र क्षतिग्रस्त भवनमा प्रवेश नगर्न आग्रह गरेको छ ।

टर्की ठूला भ्रंशरेखामाथि रहेको कारण यहाँ भूकम्प बारम्बार हुने गरेको छ। २०२३ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजारभन्दा बढीको ज्यान लिएको थियो भने सिरियामा करिब ६ हजारको मृत्यु भएको थियो ।