बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास कुनै हालतमा स्वीकार्य हुन्नः नारायणकाजी श्रेष्ठ


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि प्रयास स्वीयर्का नहुने बताएका छन् ।

सामाजिक संजालमार्फत श्रेष्ठले कुनै पनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘कुनै पनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन । यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ । सरकारले यस प्रकारको कार्य तत्काल रोकोस्।’

सदन र सडकबाट विरोध भएपछि सरकारले समाजमा नकारात्मक असर पर्ने गरी बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक संसदमा पेस नहुने बताएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पर्ने बहुविवाहसम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन्, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न व्याख्या गर्दा आममानिसको बुझाइमा अन्योलता र आक्रोश सिर्जना भएको उनको दाबी थियो ।