लिची बगान प्रकरणका ‘बिचौलिया’ सुजन लामालाई एमालेले गर्यो निलम्बन


गण्डकी । नेकपा एमालेले पोखराको लिची बगानको जग्गा प्रकरणमा मुछिएका सुजन लामासहित दुई जनालाई निलम्बन गरेको छ । एमाले गण्डकी प्रदेश कमिटीको आइतबारको बैठकले लामा र पार्टी प्रदेश कमिटी सदस्य खेम पुनलाई पनि निलम्बन गर्ने निर्णय गरेको हो ।

लामा गण्डकी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य हुन् । दुवैको नाम विवादित विषयसँग जोडिएकाले सफाइ नपाउँदासम्म अनुशासनको कारबाही स्वरुप निलम्बन गरिएको एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन लामाले तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग आर्थिक लेनदेनको प्रस्ताव राखेको अडियो सार्वजनिक भएको थियो ।