बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा


बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी लामाले राजीनाको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए । मुख्यमन्त्री लामा २०८१ साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेस संसदीय दलभित्रको विवादका कारण उनले राजीनामा दिएका हुन् ।

लामाविरुद्ध २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमाथि मतविभाजन गर्दा २२ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेपछि संसदीय दलको नेताका लागि निर्वाचन भएको थियो । गत बुधबार संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँ २२ मतसहित निर्वाचित भएका थिए ।

संसदीय दलमा पराजित भएपछि पनि लामाले पदबाट राजीनामा नदिने बताएका थिए । तर पार्टी सभापति देउवाले दलको नेता ईन्द्रबहादुर बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।