मूल नेतृत्वले नै पार्टीको विधि बिगारेको जनार्दन शर्माको आरोप


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी हेडक्वार्टरबाटै आफूले पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइएको बताएका छन् ।

आइतबार स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माणको अभियानमा लागेको नेतालाई पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले पार्टी निर्माण हुन्छ भनेर लागेबाट कारबाही गर्न लागिएको हो भने आफू सजाय भोग्न तयार रहेको बताए । उनले भने, ‘मैले पार्टी फुटाउँछ भनेर चलाइएको हल्ला खारेज गर्छु । पार्टीबाट धकेल्न खोजे पनि छाड्दिनँ ।’

उनले आफू आत्मालोचना गर्न तयार रहेको तर अरुले पनि गर्नुपर्ने बताए । उनले निर्वाचनमा ३१ लाख भोट पाएको पार्टी अहिले किन ११ लाखमा सीमित भयो भन्ने विषयमा नेतृत्वले जवाफ दिनुपर्ने बताए ।

उनले प्रश्न गरे, ‘पहिलो निर्वाचनमा हामीले ३१ लाख भोट पाएका थियौं । तर अहिले किन ११ लाखमा झर्यो? यसमा मेरो दोष छ भने भोग्न तयार छु । अरु चाहिँ हुने कि नहुने ?’

उपमहासचिव शर्माले सुशासनका लागि पार्टीभित्रबाट सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले मूल नेतृत्वले नै पार्टीको विधि बिगारेको आरोप लगाए ।

उनले भने, ‘अध्यक्ष प्रचण्डले पनि विधि, पद्धतिलाई मनपरि चलाउनु भएको छ । यसको जिम्मा उहाँले लिनुपर्छ । उहाँले जिम्मा लिएपछि म आत्मालोचना गर्न तयार छु ।’

यसअघिका बैठकमा नेताहरुले पार्टी अध्यक्षको आलोचना गरेको भन्दै उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।