काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई परास्त गर्न एकपटक फेरि नयाँ विद्रोहको आवश्यकता रहेको बताएका छन् ।
आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ विद्रोहका लागि पार्टीले तयारी गरिरहेको बताए ।
उनले नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पकासाथ हिँडिरहेको बताए । उनले भने,‘एकचोटि फेरि नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अगाडि बढ्दै छौं । नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पकासाथ हिँडिरहेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’
उनले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताए । उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने, जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन् ।’
प्रचण्डले सबै जिल्लामा हजारौंको संख्यामा सहिदहरुको रगत बगेको भन्दै अहिले त्यसको महानता र कृतिलाई अपमानित गर्न ठूलो कसरत भइरहेको बताए ।

प्रतिक्रिया