माओवादीसँग तत्काल एकताका लागि कुनै छलफल भएको छैनः अध्यक्ष नेपाल


विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूविरुद्धको मुद्दा राजनीतिक प्रतिशोध भएको कुरा सबैले बुझेका बताएका हुन् ।

उनले पतञ्जली जग्गा प्रकरण मन्त्रिपरिषदले निर्णय गरेको र त्यसबाट राज्यलाई एक रुपैयाँ पनि नोक्सान नभएको जिकिर गरे । उनले भने, ‘यो राजनीतिक पूर्वाग्रह हो, प्रतिशोध भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’

उनले नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकताका लागि कुनै छलफल नभएको बताए । उनले भने, ‘माओवादीसँग अहिले एकीकरणको कुरै भएको छैन । अहिले सहकार्यको मात्रै कुरा भएको छ । समाजवादी मोर्चालाई निरन्तरता दिन दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल भइरहेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश पीडामा परिरहेको बताए । उनले भने, ‘यो सरकार सबै कुरामा असफल भइसकेको छ । एउटा व्यक्ति ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले देश पीडित छ । ओलीलाई बिदा नगर्दासम्म देशको हालत यस्तै हुन्छ।’