काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा किचलो बढ्दै गएको छ । पार्टीमा किचलो बढ्दै गएको भन्दै निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गरी कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
कार्कीले राप्रपामा आफूले सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख गर्दै कार्कीले वर्तमान नेतृत्वले पार्टीलाई विधि–विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
प्रेस विज्ञप्ति
मितिः २०८२/०४/१५
विषयः पार्टी परित्यागको घोषणा
म, किशोरबहादुर कार्की,
निर्वाचित केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.),
विगत लामो समयदेखि राष्ट्रप्रेम, मूल्य–सिद्धान्त र जनआकांक्षामा अडिग रहँदै संगठनमा समर्पित भएर काम गर्दै आएको छु।
पार्टी मा विभिन्न जिम्मेवारीमा रही पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द पूर्वअध्यक्ष माननीय पशुपति शम्शेर राणा, कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेतागण सित काम गर्दै आएको मेरो इतिहास साक्षी छ।
म सधैं विश्वास गर्थें पार्टी विचार, अनुशासन र साझा दृष्टिकोणको माध्यमबाट देश र जनताको हितमा योगदान पुर्याउने सक्षम पार्टी बन्न सक्छ। तर पछिल्ला घटनाक्रमले देखाएको यथार्थले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो।
पार्टीको विघटन र निरन्तर असफल एकता
रा.प्र.पा. २०४७ सालमै एउटै विचारका समूह बीच सहमति हुन नसकी सुरुवात मै जुम्ल्याहा रूपमा जन्मियो। त्यसपछिका तीन दशकदेखि ‘एकता’ को नारा लगाइए पनि, व्यवहारमा गुट, स्वार्थ र व्यक्तिवादी प्रवृत्तिले संगठन कमजोर रह्यो । नेतृत्वबीच सहकार्यको भावना कहिल्यै स्थायी हुन सकेन । विचारभन्दा अगाडि पदको भागबन्डा, प्रायःजसो कार्यकर्ताहरु चाकडी र चाप्लुसीको बढोत्तरी, सिद्धान्त भन्दा ‘भागबन्डा, सेटिङ र साँठगाँठ’ नै प्राथमिकता र प्रत्येक निर्वाचनमा नयाँ चुनाव चिह्नको बाध्यता, जसका कारण उम्मेदवारहरू जनताको समर्थन हुँदाहुँदै पनि पराजित भइरहेका छन् । यसरी, जनता र कार्यकर्तामा निराशा र विश्वासको संकट सिर्जना भएको छ।
पार्टीको वर्तमान अवस्था र नेतृत्वको प्रवृत्ति
आज पार्टी भित्र नेतृत्वले कुनै विधि–विधानको पालना नगरी, संगठनलाई प्राइभेट कम्पनी वा क्लब झैं मनपरी तरिकाले सञ्चालन गर्दै आएको छ । वरिष्ठ नेताहरू नै मौन दर्शक बनेर निरिह भूमिका मा सीमित छन्, भने केही कार्यकर्ताहरु ‘कुनै लाभ होला’ भन्ने आशामा पनि चाकडी र चाप्लुसीमा व्यस्त छन् । ‘अरूलाई खाने बाघले आफूलाई पनि खान्छ’ भन्ने यथार्थ प्रति बेखबर।
अझ गम्भीर कुरा त
सिपाहीमा भर्ना हुने योग्यता समेत नभएका व्यक्तिलाई एकैचोटि शीर्ष जिम्मेवारी दिने प्रवृत्ति त्यस्ता धेरै उदाहरणहरु धेरै छन् । पुराना, इमानदार र जनाधार भएका कार्यकर्तालाई अपमानित र पाखा लगाउने अभ्यासले संगठनको आत्मा मरेको जस्तो बनाएको छ । त्यसमाथि, पार्टी अध्यक्ष जसलाई हामीले अभिभावक ठानेका थियौं तर सबैलाई मिलाएर अघि बढाउनुको सट्टा, आफूसँग विमति राख्ने, सुधारका सुझाव दिने, र अधिवेशनमा रातदिन मरेर सहयोग गर्ने त्यागी कार्यकर्तालाई नै छानी–छानी हटाउन थालेका छन् । जब नेतृत्व नै आफ्ना योगदान कर्तालाई अपमानित गर्छ र आलोचकलाई निष्कासनमा केन्द्रित हुन्छ, त्यस्तो नेतृत्वबाट पार्टीको भविष्य निर्माण कुनै हालतमा सम्भव छैन भन्ने प्रष्ट देखिन्छ।
निर्णय र निष्कर्ष
मैले लामो समय सम्म भित्रैबाट सुधारका लागि प्रयत्न अनेकौं प्रयत्न गरें ।सल्लाह दिएँ, आलोचना सहन तयार भएँ, विचार राखें । तर, नेतृत्वको अहंकार, भागबन्डा र हैकमबादी प्रवृत्तिले सुधारको कुनै सम्भावना नरहेको प्रष्ट भएको छ । हजारौं जनता एकपटक भावनामा बगेर गलत निर्णय लिन सक्छन् । तर यदि नेतृत्व मूर्ख, असंवेदनशील र हैकमबादी भयो भने सिङ्गो पार्टी मात्र होइन, देश नै डुबाउने हुन्छन् । त्यसैले यस्तो नेतृत्वको पछाडि लागिरहनु देश र जनतालाई धोका दिनु बराबर हुनेछ । अतः, म आजको मितिबाट रा.प्र.पा.को साधारण सदस्यता समेत परित्याग गर्दै, आजदेखि कुनै दल वा गुटको नभई ‘स्वतन्त्र जनता’ को आवाजका रूपमा स्वतन्त्र विचार, विवेक र मूल्यका साथ राष्ट्र र जनताको सेवामा समर्पित रहने घोषणा गर्दछु ।
आभार र अपेक्षा
यस लामो यात्रामा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण राष्ट्रवादी, इमानदार साथीहरूलाई हार्दिक धन्यवाद प्रकट गर्दछु । यदि मेरो शब्द वा कर्मबाट कसैलाई व्यक्तिगत चोट पुगेको छ भने म यहाँ प्रति क्षमाप्रार्थी छु । भविष्यमा सत्य, निष्ठा र राष्ट्र निर्माणमा साझा प्रयासमा पुनः सहकार्यको अपेक्षा राख्दछु।
किशोर बहादुर कार्की
( निर्वाचित केन्द्रीय सदस्य )

प्रतिक्रिया