मन्त्री हेरफेरको निर्णय गर्ने भनिएको बैठकमा बागमतीमा कांग्रेसको किचलोका विषयमा छलफल


काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

बिहीबार दुई दलका शीर्ष नेताबीच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।

त्यस्तै छलफलमा महान्याधिवक्ता रमेश बडाल पनि सहभागी थिए । बैठकले मन्त्री हेरफेरका विषय टुंग्याउने बताइएपनि त्यसबारेमा कुरा नभएको कांग्रेस उपसभापति खड्काले बताए ।

उनले बैठकमा सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे छलफल भएको बताए ।

बैठकमा कांग्रेस सभापति देउवाले बागमती सरकारको विषय कांग्रेसको आन्तरिक विषय भएकाले छिट्टै टुंग्याउने बताएका थिए ।

बागमतीमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ईन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । तर मुख्यमन्त्री लामाले राजीनामा नदिने अडान लिएका छन् । कांग्रेसका कारण बागमती प्रदेश सरकारमा किचलो देखिएको छ ।