काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
महासचिव शंकर पोखरेलले जिल्ला र प्रदेश कमिटीलाई तीन जनाको नाम सिफारिस गर्न पत्र पठाएका हुन् । पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।
पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ । दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन दिइएको छ ।
सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ । निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

प्रतिक्रिया