रूसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प


अमेरिका । रूसको काम्चाट्का प्रायद्वीपको समुद्री क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि अमेरिकी भूगर्भ सर्वेक्षण विभाग(युएसजिएस)ले अमेरिका पश्चिमी तट, अलास्काको आलेउटियन टापुहरूसहित हवाई राज्यमा सुनामीको उच्च सतर्कता जारी गरेको छ ।

युएसजिएसका अनुसार भूकम्प स्थानीय समयअनुसार मंगलबार राति ७ः२४ बजे, पेत्रोपाभलोभ्स्क–काम्चात्स्कीको दक्षिण–पूर्वतर्फ करिब १२६ किलोमिटरको दूरीमा, करिब १२ माइल गहिराइमा गएको थियो । सतही प्रकृतिको भूकम्प भएकाले सुनामीको जोखिम उच्च रहेको जनाइएको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले हवाई राज्यभरका सबै तटीय क्षेत्रहरूमा सुनामीले गम्भीर असर पुर्याउन सक्ने बताउँदै नागरिकहरूलाई सतर्क रहन आह्वान गरेको छ । सुनामी चेतावनी केन्द्रका अनुसार यस्ता छालाहरू ४५ मिनेटसम्म दोहोरिन सक्ने खतरा रहन्छ।