पार्टीभित्रको असमझदारीबारे आफ्नो अनुकूल व्याख्या नगर्न जनार्दन शर्माको आग्रह


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको अन्तर्विरोधबारे आफ्नो अनुकूल व्याख्या नगर्न आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको असमझदारीबारे सार्वजनिकरुपमा अनेक टिप्प्णी हुन थालेपछि उपमहासचिव शर्माले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । उनले आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु।’

उपमहासचिव शर्माले केही दिनअघि एक कार्यक्रममा मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट रहेको आरोप लगाएका थिए । गत बुधबार उपमहासचिव शर्माप्रति लक्षित गर्दै प्रचण्डले केही साथीहरूले सिँगौरी खेल्न खोजको बताएका थिए ।

प्रचण्डले भने, ‘मैले सधैँ छलफलको वातावरण बनाउँदै आएको छु । अहिले पनि केही साथीहरू सिँगौरी खेल्न पाए हुन्थ्योजस्तो गरिरहनुभएको छ । उहाँहरूलाई प्रशस्त मौका दिएको छु । अस्ति मात्रै डेढ महिना देशैभरि लिएर हिँडेँ । मैले कसैलाई कारबाही गरिनँ । कमरेड मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’लगायत थुप्रै नेताहरूले भिन्न मत राखे, तर म पार्टीबाट निकाल्ने ठाउँमा पुगिनँ ।’

त्यस्तै प्रचण्डले आफू ३६ वर्षदेखि नेतृत्वमा रहँदै आएको बताउँदै हस्तान्तरणका लागि उपयुक्त पात्र नभेटेको समेत बताए । उनले भनेका थिए, ‘म ३६ वर्षदेखि नेतृत्वमा छु । एकथरीलाई लाग्न सक्छ, यो मान्छे कहिल्यै हट्दैन । तर, कहिलेकाहीँ राति सोच्ने गर्छु, साँच्चै छोड्नुपर्छ कि ! फेरि अर्कोतिर सोच्दा लाग्छ, पार्टी बिग्रिने त होइन ?’ शर्मा र प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर अनेक टिप्पणी भइरहेका छन् ।