काठमाडौं । नेपाल प्रहरीमा ४ हजार ७३५ जनशक्ति खाली रहेको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति खाली रहेको जानकारी दिएका हुन् ।
विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८०६ रहेको उनले बताए । वरिष्ठ अधिकृतहरुको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको उनले बताए । उनका अनुसार तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ।
प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा २ हजार भन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ ।
२ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै ९२४ जना छन् । त्यस्तै प्रहरीमा बीचमै जागिर छाड्ने क्रम पनि बढेको छ । प्रवक्ता घिमिरेकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ सय ६९ प्रहरी कर्मचारीले राजीनामा दिएका हुन् ।
अधिकांशले घरायसी कारण देखाएर राजीनामा दिने गरेको उनले बताए । राजीनामा दिनेमध्ये प्रहरी निरीक्षक १९ जना, असईदेखि वरिष्ठ सईसम्म ४०१ जना, कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म १९ सय ४९ जना रहेका छन् ।

प्रतिक्रिया