काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडको विषयलाई लिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच आरोपप्रत्यारोप चलेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले कुलिङ पिरियड हटाउनमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको र छानबिन गर्नुपर्ने बताएपछि दुई दलका नेताबीच आरोपप्रत्यारोप चलेको हो । प्रचण्डले प्रधानमन्त्रीमाथि छानबिन गर्न माग गरेपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्डमाथि नै छानबिन गर्नुपर्ने माग गरेका छन् । उनले विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।
त्यसपछि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले योगेश भट्टराईले जवाफ फर्काउँदै राष्ट्रिय सभामा कुलिङ पिरियडको बिरूछमा एमालेका माननीयहरूले गरेको संशोधन दर्ताले पुष्टि गर्दैन र ? भन्दै प्रश्न गरेका छन् ।
सांसद दाहालले लेखेका छन्, ‘संघीय निजामती विधेयकको मस्यौदा तयार गरेर सदनमा पेश गर्ने समयमै एमालेको असहमतिका कारण कुलिङ पिरियड सम्बन्धि विषय नबोली सम्मानित सदनमा पेश गर्नु परेको बाध्यता माननीय योगेशजीलाई थाहा भएकै विषय हो । सचेततापूर्वक समितिमै विषय प्रवेश गराएर कांग्रेसलाई विश्वासमा लिएर एमालेलाई दवावमा राखेर सार्वजनिक बहसको विषय बनाई समितिबाट सर्वसम्मत पास गराएको पनि थाहा हुनु पर्ने । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीकै ठाडो आदेशमा प्रतनिधिसभाको कार्यसूचीबाट हटाएपछि फेरि जबर्जस्त दबाब झेल्न नसकेर सदनमा ल्याउदा कुलिङ पिरियड सम्बन्धि प्रावधान नै हटाउने षड्यन्त्रमा ओलीजीको प्रत्यक्ष संलग्नताको पुष्टि राष्ट्रिय सभामा कुलिङ पिरियडको बिरूद्धमा एमालेका माननीयहरूले गरेको संशोधन दर्ताले पुष्टि गर्दैन र ? अनि एमालेको संस्थागत संलग्नता भएपछि सम्माननीय प्रधानमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गर्नु जायज होइन र ?

प्रतिक्रिया