काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐनमा कुलिङ अफ पिरियडलाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’
प्रचण्डले प्रधानमन्त्री ओलीकै संलग्नतामा ऐनलाई निष्क्रिय तुल्याउने प्रयास भएको दाबी गर्दै छानबिनको दायरामा उनी पनि पर्नुपर्ने बताए ।
उनले भने, ‘शंकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रुपमा भन्ने आधार थिएन । अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’
उनले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताए । उनले भने, ‘म पनि कम्युनिष्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ । दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन्छ ।’
पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुशरण गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने प्रचण्डले बताए ।
‘पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिष्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन’, अध्यक्ष प्रचण्डले भने, ‘अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिष्ट विरोधीसँग कसरी एकता हुन्छ ? त्यो त विगतमा देखियो नि ।’
अध्यक्ष प्रचण्डले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरुले अनुमोदन गरे पनि त्यो एकता नतिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए ।
‘आजको अन्तरराष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बीचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ’, उनले भने ।

प्रतिक्रिया