काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा सरकारको उदासीनताप्रति आलोचना गरेकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद कठायतले विगत लामो समयदेखि संसद र सडक दुवैमा यो विषय उठिरहँदा पनि सरकारले कुनै प्रभावकारी कदम नचालेको उल्लेख गरेकी हुन् ।
उनले भनिन्, ‘यस देशमा न्याय, कानुन, जवाफदेहीता र मानविय सम्बेधना मरेरै गएको हो त? भिजिट भिसाको आवरणमा भैइरहेको भ्रष्टाचार र मानव तस्करीको विषय यति लामो समयसम्म संसद र सडक दुवैमा उठ्दा पनि सरकार उदासिन छ ।’
उनले सरकारले यो विषयलाई टालटुल समिति बनाएर पन्छाउने प्रयास गरिरहेको भन्दै रास्वपा यसमा पूर्णतः अस्वीकार्य रहेको बताइन् । उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले यो कुटिल कदमलाई पूर्ण अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय समिति नै बनाउन माग गरेको छ । हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ ।’
सांसद कठायतले यो विषय अब केवल राष्ट्रिय चिन्ताको विषय नभई अन्तर्राष्ट्रिय सरोकारको विषय पनि बनिसकेको बताइन् । ‘राष्ट्रसङ्घ मात्र होइन, मित्र राष्ट्रहरू समेत चासो देखाइरहेका छन्। छिमेकी भारतका मिडियामा समेत यो विषयले स्थान पाइसकेको छ,’उनले भनिन् ।

प्रतिक्रिया