काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक्न नहुने बताएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत केन्द्रीय सदस्य कार्कीले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक्न नहुने बताएका हुन् । उनले भनेका छन्, ‘ए गाँठे ! धेरै अघि नै होइन, रामचन्द्र पौडेल समामुखबाट फर्केपछि कांग्रेसमा सामेल भएकै हुन्, सुवास नेम्वाङ उसरी नै सभामुखबाट फर्केपछि एमालेमा सामेल भएकै हुन् । बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भएकै हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष हुँदा आकाश खसेको छैन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मजेरी टेक्नु हुन्न ! किन ?’
उनले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । उनले भनेका छन्, ‘किनभने ’युद्ध र प्रेममा सबकुछ जायज हुन्छ । राष्ट्रपति भनेको मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र सरक्षणकर्ता, सेनाको परमाधिपति हुन् । दलगत हुनु हुन्न । पदको गरिमाको पूर्ण संम्मान गर्न पर्दछ, उल्लङ्घन गर्न छुट छैन पनि । तर पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन । त्यसैले संविधानले रोक्दैन । राजनीतिले रोक्न मिल्छ ? हामी बडो लोकतान्त्रिक छौं । हामी राजनीति गर्छौं ।’

प्रतिक्रिया