हामीले कहिले युवाहरूलाई स्वदेशमै शिक्षा, सीप र सम्भावनाको बाटो देखाउने ?


-सुमना श्रेष्ठ

केआईआईटी (KIIT)मा प्रकृति लम्साल र प्रिशा साहको आत्महत्या एकाध असम्बन्धित दुर्घटना मात्र होइन । घटनाको छानबिन गर्न बनेको युजीसी प्यानलले केआईआईटीको गैरजिम्मेवार कदमहरू नै आत्महत्यासम्म पुर्याउने कारक रहेको भन्ने निश्कर्ष निकालेको छ ।
यो घटनाको बीच नेपालको असफल कूटनीति र संरचनागत कमजोरी पनि उदांगो भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा मात्र ५,९१० नेपाली विद्यार्थीहरू अध्ययनको लागि भारत गएका सरकारी तथ्याङ्कले बताउँछ । यसमा समावेश नहुने अनुमति नलिई भारत जाने विद्यार्थीको संख्या नै हजारौँमा हुने गर्छ । त्यहाँ पुगेर विद्यार्थीहरूले साहारा नपाउनु, मानसिक तनाव, दुव्र्यवहार र अन्याय भोग्नु नयाँ कुरा होइन।

नेपाली आप्रवासीको संख्या सबैभन्दा बढी भएको भारतमा दिल्ली र कोलकतामा बाहेक अन्य ठाउँमा हाम्रो कूटनीतिक उपस्थिति छैन । त्यत्रो ठूलो देशमा नेपाली विद्यार्थी वा कामदारलाई केही समस्या परे आफ्ना नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकेको छैन–न त सहायता प्रणाली छ न उजुरी गर्ने ठाउँ नै । यस्तो अवस्थामा, हाम्रो सरकार कहाँ छ ? किन हजारौं नेपाली युवाको सुरक्षाका नजिकैको देशको प्रमुख शहरहरूमा सम्पर्क केन्द्र खोल्न सक्दैन ?

यति ठूलो संख्या भारत जानु भनेको स्वदेशमा शिक्षाको गुणस्तरमाथिको शंका हुनु, समयमा परीक्षा र नतिजा समेत निकाल्न नसक्ने प्रणाली दोषी छ । हामीले कहिले युवाहरूलाई स्वदेशमै शिक्षा, सीप र सम्भावनाको बाटो देखाउने ?
अब मौन बस्ने समय होइन । सुधार माग्ने, जिम्मेवारी लिने र विद्यार्थीहरुको सुरक्षित भविष्यका लागि दबाब दिने समय हो।