काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले पार्टीको यो निर्णय र निर्णयमा पुग्न गरिएको तिगडम दुवैबाट आफू अचम्मित भएको बताएकी छन् ।
बुधबार सामाजिक संजालमार्फत भण्डारीले यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’
उनले पुष्पलालको परिवारले एमालेमा नैतिक समर्थन जनाउन किन नचाहेको होला भन्ने विगतमा आफूलाई लाग्ने गरेको भए पनि एक महिनादेखि त्यसबारे ज्ञान बोध भएको उनले बताएकी छिन् ।
उनले भनेकी छन्, ’अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग !! मलाई उहिले–उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद !’

प्रतिक्रिया