नेतृत्वलाई वामदेवको आग्रहः मलाई चाहिन्न पद, काम दिनुस्


काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका सबै उपलब्धि पुष्पलालको योगदानको जगमा भएको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा बुधबार कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा गौतमले यस्तो बताएका हुन् ।

उनले आफूले कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा काम गर्नका लागि एकीकृत समाजवादीसँग एकता गरेको बताए । गौतमले आफूलाई समयसापेक्ष काम दिन पार्टी नेतृत्वलाई आग्रह गरे । उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिन्न पद। मलाई काम दिनुस् । यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ।’

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने बताए । अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने बताए ।

पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गरेको उल्लेख गर्दै उनले आफूले पनि नेकपा (एमाले)को नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए’, उनले भने, ‘त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझ्नुभएको थियो । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।’

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवाद हाबी भएको बताए ।