देउवालाई भेटेर कांग्रेसका पूर्वपदाधिकारीले उठाए सरकारको काम कारबाहीबारे प्रश्न


काठमाडौँ । नेपाली कांग्रेसका पाँच नेताले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । सभापति देउवालाई भेट्न मंगलबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वउपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पार्टी प्रवक्ता डा प्रकाशशरण महत देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

उनीहरु सोमबार चाक्सीबारस्थित प्रकाशमान सिंहको निवासको भएको बैठकको निर्णय सुनाउन देउवाकोमा गएका हुन् । भेटमा नेताहरुले सरकारको विषयमा नियुक्ति तथा सरुवा बढुवा पारदर्शी नभएको बताएका थिए । त्यस्तै नेताहरुले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राम्रो काम गर्न नसकेको भन्दै सभापतिको ध्यानाकर्षण गराएका थिए ।

नेताहरुले संकटमा सहयोग गरेका साथीहरुलाई सम्झिन देउवालाई आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले सबैलाई समेटेर लैजाने आश्वासन दिएका छन् । त्यस्तै सभापति देउवाले सरकारमाथि प्रश्न उठ्ने गरी नबोल्न आग्रह गरेका छन् । उनले सरकारले विस्तारै सुधार गर्दै जाने भन्दै अहिले नै प्रश्न उठ्ने गरी काम नगर्न आग्रह गरे ।

सोमबार चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीहरूको बैठकले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थियो ।

त्यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने गरी कांग्रेसले बहस चलाउनुपर्ने विषयमा समेत छलफल भएको भएको थियो । यसैगरी सरकारले गठबन्धनको भावनाअनुसार थप प्रभावकारी रूपमा जनताका पक्षमा काम गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा उपप्रधानमन्त्री सिंह, नेताहरू सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला र डा प्रकाशशरण महत सहभागी थिए । सोमबारको बैठकको निर्णय सुनाउन नेताहरु आज देउवालाई भेट्न पुगेका हुन् ।