पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुराले पार्टी, लोकतन्त्र र मुलुक नै कमजोर हुन्छः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरा अस्वाभाविक हुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुरालाई स्वभाविक मान्न नसकिने बताएका हुन् । उनले सक्रिय राजनीतिमा फर्किन खोज्नेले बुद्धिजीवी र वकिलसँग परामर्श गर्नुपर्ने बताए ।

उनले विश्वको कुनै देशमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किएको उदाहरण दिएर हाम्रोमा नमिल्ने बताए । उनले भने, ‘विश्वको कुनै देशमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किएको उदाहरण दिएर हाम्रोमा मिल्छ ? यहाँको वस्तुस्थिति र समाजको भावना बुझ्नु पर्दैन ? सक्रिय राजनीतिमा फर्किन खोज्नेले बुद्धिजीवी र वकिलसँग परामर्श गर्न पर्दैन ?’

उनले राष्ट्रप्रमुख र सेनाको परमाधिपति भइसकेको व्यक्ति पुनः राजनीतिमा फर्किने कुराले युवामा निराशा र आक्रोश बढ्ने बताए । उनले भने, ‘यस विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं, तर राजनीतिलाई धमिलो बनाउने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन ।पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुराले पार्टी, लोकतन्त्र र मुलुक नै कमजोर हुनेछ ।’

प्रधानमन्त्री ओलीले आफूले पार्टीको बैठकको म्यान्डेट अनुसार भेटेको तर केही नेताले प्रवक्ताले जसरी तथानाम बोलेको भन्दै आपत्ति जनाए ।

ओलीले एमालेलाई कमजोर बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू लागिपरेको समेत आरोप लगाए । उनले भने, ‘हामी पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर पार्टीलाई अघि बढाउनेगरी लाग्नुपर्नेछ । पार्टीका बाहिर र भित्रि तत्वलाई चलाएर विभाजित गर्ने तत्वहरू आए । त्यो अहिले पनि हुनसक्छ । त्यसलाई जोगाएर अघि बढ्नुपर्छ ।’

ओलीले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति अनुसार अबको ११ महिना अगावै सत्ता हस्तान्तरण गर्ने बताए । उनले कांग्रेस–एमाले सत्ता सहकार्यमा समस्या नरहेको दाबी समेत गरेका छन् ।