बीबीसी । वैज्ञानिकहरूले १५ लाख वर्षभन्दा पुरानो रहेको ठानिएको एउटा बरफ पगाल्ने भएका छन् । पृथ्वीको जलवायुबारे अध्ययनका लागि उक्त बरफको ढिक्कालाई बेलायत ल्याइएको छ । काँचको सिलिन्डर जस्तै देखिने उक्त ’आइस कोर’ यो ग्रहको सबैभन्दा पुरानो बरफ हो ।
यो अन्टार्कटिकको बरफ पत्रको भित्री भागबाट निकालिएको हो । यसभित्र हजारौँ वर्ष पुराना र अहिलेसम्म थाहा नभएका जानकारी रहेको र जलवायु परिवर्तनबारे हाम्रो अहिलेको बुझाइलाई यसले व्यापक हेरफेर गराइदिनसक्ने वैज्ञानिकहरूको दाबी छ ।
बरफका ती अमूल्य बाकसहरू हेर्न बीबीसी न्यूजका प्रतिनिधि केम्ब्रिजस्थित ब्रिटिश एन्टार्कटिक सर्भेको –२३ डिग्री सेल्सिअसको तापक्रम रहेको कोठामा प्रवेश गरेका थिए ।
‘यो पृथ्वीको इतिहासको केही पनि थाहा नभएको युगको कुरा हो,’ ब्रिटिश एन्टार्कटिक सर्भेकी आइस कोर विभाग प्रमुख डा लिज थोमस भन्छिन् ।
कोठाको ढोकामाथि चेतावनी सङ्केत दिने राता बत्तीहरू पिलपिल गरिरहेका छन् र भित्रपट्टि केही गडबड भएको अवस्थामा भाग्नका लागि आपत्कालीन सुरुङहरू छन् । यो कोठाभित्र एक पटकमा १५ मिनेटसम्म मात्रै बस्न पाइने नियम छ। र भित्र जाँदा विशेष पोसाक, बुट र पन्जा लगाउन अनिवार्य गरिएको छ ।
ठूलो प्रयासबाट निकालिएका बरफहरूलाई वैज्ञानिकहरूको यो टोलीले सात हप्तासम्म बिस्तारै पग्लन छोड्ने छ। बरफ बिलाउँदै जाँदा यसमा च्यापिएर रहेको प्राचीन धुलो, ज्वालामुखीको खरानी र डायटम्स भनिने साना समुद्री झार पनि बाहिर आउने छ ।
यी चिजहरूले वैज्ञानिकहरूलाई १० लाख वर्षभन्दा पहिलेको हावाको ढाँचा, तापक्रम र समुद्री सतहको बारेमा थाहा दिन सक्छन् । बरफ पग्लिएर निस्कने तरल पानीलाई ट्यूबहरूले अर्को कोठामा रहेको विश्वकै एक मात्र यस्तो परीक्षण गर्न सकिने प्रयोगशालामा पुर्याउँछन् ।
अन्टार्कटिकाबाट बरफका यी नमुना निकाल्न कैयौँ देशहरूले दशौँ लाख खर्च गरेका थिए। सबैभन्दा पहिले बरफलाई एक मिटर लम्बाइका ब्लकहरूमा काटिएको थियो अनि पहिले पानीजहाज र त्यसपछि चिस्यान सहितको भ्यानमा केम्ब्रिजसम्म ल्याइएको थियो । पूर्वी अन्टार्कटिकाको कन्कर्डिया नजिकैबाट बरफ निकाल्न इन्जिनियर जेम्स भिएलले सहयोग गरेका थिए ।
‘पन्जा लगाएर हातले सावधानीपूर्वक त्यसलाई निकाल्नु र एउटै टुक्रा पनि त्यसबाट अलग हुन नदिन सावधान भएर काम गर्नु अद्भुत अनुभूति थियो,’ उनी भन्छन् ।
जर्मनी र स्विट्जरल्यान्डका दुई वटा संस्थाले पनि २.८ किलोमिटर कुल लम्बाईका बरफका टुक्राहरूमध्ये केही अनुसन्धानका लागि पाएका छन्।

प्रतिक्रिया