वैकल्पिक सरकार बन्ने सवालमा एमालेमा कुनै विद्रोह हुँदैनः नेता पोखरेल


काठमाडौं । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स काठमाडौंमा आयोजित साक्षात्कारमा पोखरेलले यो गठबन्धनको अहिले विकल्प नभएको बताएका हुन् । उनले ०८४ सम्म नै यो गठबन्धन जाने भएकाले ढुक्क हुन आग्रह गरे । उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे ।

उनले भने,‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न । अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ । त्यस्तो सम्भावना देख्दिनँ ।’

उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे । उनले भने,‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन । विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न । उहाँको चरित्र त्यस्तो छैन । अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन ।’

पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने,‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’

उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हुने ठोकुवा गरे । उनले मन्त्रीहरु घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने बताए ।