प्रधानमन्त्रीले आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छः उपमहासचिव पुन


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिशोधको श्रृंखला नरोकिएको बताएका छन् ।

शनिबार पार्टीसम्बद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा उपमहाचिव पुनले रवि लामिछानेबाट सुरु भएको प्रतिशोधको श्रृंखला परराष्ट्रमन्त्री आरजु राणासम्म पुग्ने बताएका हुन् ।

उनले भने, ‘हेर्दै जानुस्, कांग्रेस गठबन्धनबाट अलिकति चलमलाउन थाल्यो भने उहाँले केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ । अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ ।’

उपमहासचिव पुनले रविलाई थुनेर रास्वपा फुटाउने, माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादी एमालेमा समाहित गराउने नियत रहेको बताए । उनले उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी गरे ।

उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको बताए ।