-नारायण गाउँले ।
ओलीजी ! तपाईंलाई थाहा छ, देशको हरेक क्षेत्रमा सत्ता र शक्तिको आडमा बिचौलिया, भ्रष्टाचार र घूसखोरीको नेक्सस कति बलियो र अभेद्य छ । तपाईं केही वर्षअघि गोकुल बास्कोटाको केसमा शून्य सहनशील बनिदिएको भए आज भ्रष्टहरू यसरी विजेताझैँ छाती फुलाएर उभिन सक्ने थिएनन् । एउटा करोडको सफ्टवेयर किन्दा अरब कमिशन खाने चलन यसरी फैलिने थिएन । आज तपाईंलाई दुई नेता बचाएँ भन्ने लाग्दै होला तर यसले सिस्टम र पार्टी दुबैलाई धेरै वर्ष डुबाउँछ । भ्रष्टहरूको मनोबल बढ्नेछ र पार्टीकै नेता बिचौलिया बन्दै सुशासनको अन्त्येष्टि गर्नेछन् । देशको भ्रष्टाचार चियाभित्रको चिनीजस्तो छ । देखाउन मिल्दैन तर हरेक सुर्कोमा अनुभव हुन्छ । यी दुई मन्त्री मात्रै भ्रष्ट र देश जति असल भन्ने होइन । यति धेरै डटहरू स्पष्ट जोडिने गरी र क्लियर पिक्चर आउने गरी भ्रष्टाचारको काण्ड बाहिर आउँदा पनि यसरी बचाउतिर लाग्ने हो भने यो देश कहिल्यै बन्दैन । यिनलाई निष्पक्ष छानबिन र कठोरतम कारबाही नगर्ने हो भने यो भाइरसले सबै कुरा सक्नेछ ।
सोच्नुस् त, यी माथि छानबिन र कारवाही नहुने हो भने यिनैको मनोबल कति बढ्नसक्छ ? तपाईंले एक दुई नेता बचाउँदा दलाल र भ्रष्ट कर्मचारी पनि बच्ने त छन् नै, झन् बलियो बनेर धन्दा गर्नेछन् । गन्धमात्रै आउँदा त कारवाही गरिहाल्नुपर्ने विषय हो यो । अहिले त सबैतिर गन्हाएको छ । के त्यो बिचौलिया बनेर हिँड्ने, हरेक मन्त्रीको कोठासम्म सजिलै पहुँच बनाउने अनि आमजनताले समेत दलाल भनेर चिन्ने त्यो सुजन लामा भन्ने तपाईंको पार्टी नेतालाई पनि छुँदै नछुने हो ?
यी त बाहिरै आएका काण्ड हुन् । कति धेरै अडियो गर्भमैं होलान् । सम्झौता नगरी सरकार या बाहिरका सबै भ्रष्ट र भ्रष्टाचारलाई कानुनको पाता कस्नुभयो भने कुर्सी नरहला तर तपाईंको इज्जत र मान रहन्छ । न इज्जत न कुर्सी हुनबाट पनि जोगिनुहुन्छ ।

प्रतिक्रिया