काठमाडौं । नेकपा एमालेमा ७० वर्षको उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णयको पक्ष विपक्षमा बहस सुरु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले यो निर्णयको बचाउ गरिरहेको छ भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षका नेताहरु त्यसको प्रतिवादमा उत्रिएका छन् । एमाले नेतृ उषाकिरण तिम्सेनाले एमालेको दोश्रो पुस्ताले आफूलाई राजनीतिक प्राणी भएको प्रमाणित गर्ने बेला आएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘एमालेको दोश्रो पुस्ताले आफूलाई राजनीतिक प्राणी भएको प्रमाणित गर्न ढिला नगर्नु भए राम्रो हुने थियो ।’
त्यसैगरी अर्का एमाले नेता कर्णबहादुर थापाले आदेशबाट नभई विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाउन आग्रह गरेका छन् ।
थापाले सामाजिक संजालमा लेखेका छन्, ‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदिय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ एमालेको सचिवालयको बैठकमा । कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौं । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाउ । मर्यादा र सिष्टताका सीमालाई सबैले पालना गरौं ।’
बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो । खासगरी पूर्वराष्ट्रपति भण्डारीलाई नेतृत्वमा आउन नदिन यस्तो निर्णय गरिएको भन्दै उनी पक्षका नेता रुष्ट बनेका छन् ।

प्रतिक्रिया