इराकको पूर्वी सहर कुतस्थित एक सुपरमार्केटमा आगलागी हुँदा ६१ जनाको मृत्यु


इराक । इराकको पूर्वी सहर कुतस्थित एक सुपरमार्केटमा बुधबार भीषण आगलागी हुँदा कम्तीमा ६१ जनाको मृत्यु भएको छ भने ४५ जनाको सकुशल उद्धार गरिएको छ ।

घटनामा कैयौं अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयका अनुसार वासित प्रान्तको उक्त मलभित्र १४ जलेका शव फेला पारिएको छ । नागरिक सुरक्षा टोलीले भवनको भित्री भागबाट ४५ जनालाई उद्धार गरेको बताएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियोहरूमा पाँचतले भवन रातभरि जलेको देखिन्छ ।

एक साताअघि मात्रै सञ्चालनमा आएको उक्त मलमा एक रेस्टुरेन्ट र सुपरमार्केट पनि रहेका थिए । प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले आगलागीबारे गम्भीर ध्यान दिँदै गृह मन्त्रीलाई घटनास्थलमा पठाउने र पुनरावृत्ति रोक्न कडा कदम चाल्न निर्देशन दिएका छन् ।

इराकमा खराब भवन संरचना र आगो नियन्त्रण प्रणालीको कमजोरीले यस्ता घटनाहरू बारम्बार भइरहेका छन्। जुलाई २०२१ मा नासिरियाहस्थित अस्पतालमा भएको आगलागीमा पनि ६० भन्दा बढीको मृत्यु भएको थियो ।